शक्ति विन्यासमा मेरो ठूलो भूमिका छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरूले आगामी दिनमा पनि सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । संसद्मा विश्वासको प्रस्ताव राख्ने क्रममा बुधबार प्रधानमन्त्री दाहालले सबै दलहरू राज्य सञ्चालनमा सहभागी रहेको पनि स्मरण गराए ।

प्रधानमन्त्री दाहालले कांग्रेसलाई सहमति र सहकार्यमा अगाडि बढ्नुपर्ने आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीका रूपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ,’ उनले भने, ‘राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीबाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट ।’

यो शक्ति विन्यासमा आफ्नो ठूलो भूमिका रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री दाहालले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा आफ्नो निर्णायक भूमिकामा आफूलाई गर्व रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्