४५ दिनका लागि कान्तिराजपथ बन्द हुने



ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।

ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो’, उनले भने ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सवारी आवतजावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।

विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए ।

सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।

प्रतिक्रिया दिनुहोस्