प्रतिनिधिसभा र राष्ट्रियसभा गरी विभिन्न ६ वटा समितिको बैठक बस्दै



काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा गरी विभिन्न ६ वटा समितिको बैठक बस्दैछ ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे नै सिंहदरबारमा बस्ने शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ ।

यसैगरी बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून न्याय तथा मानवअधिकार समितिको बैठक पनि बस्दैछ ।

उद्योग तथा वाणिज्य समितिमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको २०७९ असार ६ गनेको निर्णय कार्यान्वयन सम्बन्धमा थप छलफल हुनेछ भने कानून समिति बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्