
काठमाडौं । साहित्यकार घनश्याम ढकाल (२०१०/२०६८) को १२औं स्मृति दिवसको कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरुको संकलित ग्रन्थ ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तक सार्वजनिक गरियो भने स्रष्टा ढकालबारे र नयाँ प्रकाशित पुस्तकबारे परिचर्चा पनि सम्पन्न भयो।
कार्यक्रममा मार्क्सवादी सौन्दर्यचिन्तक तथा वरिष्ठ समालोचक चैतन्य (मोहन वैद्य किरण)ले घनश्याम ढकालको समग्र व्यक्तित्व र ढकालले सौन्दर्यशास्त्रको क्षेत्रमा पुर्याएको योगदानबारे परिचर्चा गरेका थिए ।
ढकालसँग पञ्चायतकालदेखि जनयुद्ध हुँदै पछिल्लो कालसम्म आफूले निकट रुपमा सहकार्य गरेको संस्मरण सुनाउँदै समालोचक चैतन्यले ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तकलाई नेपालमा माक्र्सवादी सौन्दर्यशास्त्रसम्बन्धी एक प्रतिनिधि ग्रन्थका रुपमा मूल्यांकन गरे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष समेत रहेका चैतन्यले जनयुद्धको सौन्दर्यशास्त्र निर्माणमा पनि ढकालको विशिष्ट योगदान रहेको चर्चा गरे ।
घनश्याम ढकालको सामाजिक तथा राजनीतिक व्यक्तित्वबारे चर्चा गर्दै राजनीतिकर्मी सावित्रा दुराले तीन दशकअघि आफूले विद्यार्थी राजनीति थाल्दै गर्दा ढकालको वैचारिक अभिभावकत्व प्राप्त गरेको स्मरण गरे ।
ढकालले आफ्नो परिवारबाटै राजनीतिक–वैचारिक तथा सांस्कृतिक उत्तराधिकारीहरु निर्माण गरेको कुरा आन्दोलनले सिक्नुपर्ने पक्ष भएको पनि दुराले चर्चा गरे ।
नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्य दुराले आज जनयुद्धलाई विद्रुपीकरण गरिएको बेलामा घनश्याम ढकालजस्ता क्रान्तिका पक्षधर साहित्यकार र समालोचकहरुको अभाव झन् खड्किएको बताए ।
‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तकमाथि परिचर्चा गर्दै समालोचक डा.धनप्रसाद सुवेदीले नेपालमा माक्र्सवादी सौन्दर्यशास्त्रको विश्लेषण गर्ने काममा र त्यसको विकासका विभिन्न प्रवृत्तिहरुबारे समालोचना गर्ने काममा घनश्याम ढकालको योगदान विशिष्ट रहेको बताए ।
डा.सुवेदीले समालोचना र सौन्दर्यशास्त्र जस्तो जटिल सैद्धान्तिक विषयलाई पनि सरल, स्पष्ट र बुझिने भाषामा प्रस्तुत गर्न सक्ने क्षमता ढकालको लेखनमा पाइने एउटा मुख्य विशेषता हो भने ।
उहाँले ढकालले आफ्नो समयमा बहसमा आएका जनयुद्धको सौन्दर्यशास्त्र, प्रचण्डपथीय सौन्दर्यशास्त्र, दलित सौन्दर्यशास्त्र जस्ता विषयमा कलम चलाउनुभएको बारे पनि चर्चा गरे ।
मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंले घनश्याम ढकालको बहुआयामिक व्यक्तित्वबारे संक्षिप्त चर्चा गरे ढकालले कथा, निबन्ध, उपन्यास, कविता, सौन्दर्यशास्त्र, दर्शन जस्ता मुख्यतः ६ वटा विधामा कलम चलाउँदै आएको र मूलतः कथाकार व्यक्तित्वका रुपमा उनको परिचय विस्तारित भएको समालोचक चापागाईंले बताए ।
घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका चापागाईंले ढकाल आमसाहित्यकारजस्तो कविता विधाबाट नभई निबन्ध विधाबाट लेखन थाल्नुभएका र पहिलो कृति नै निबन्ध प्रकाशित गरिएको पनि चर्चा गरे ।
ढकाल आबद्ध भएका, ढकालले निर्माण गरेका र नेतृत्व गरेका संगठन, संस्था र मञ्चहरुको उल्लेख गर्दै चापागाईंले भने, ‘उनले आफ्नो लेखन र सिर्जनालाई मुक्ति आन्दोलनको अभिन्न अंगका रुपमा लिन्थे उहाँ आधारभूत रुपमा राजनीतिक व्यक्तित्व थिए । अर्को अर्थमा स्वयम् निर्मित, जुझारु र संघर्षशील व्यक्तित्व थिए ।’ समाजरुपान्तरण र सांस्कृतिक रुपान्तरणका पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका ढकालका विभिन्न विधाका रचनाहरुको संकलन प्रतिष्ठानबाट क्रमशः प्रकाशित गर्दै जाने पनि उहाँले प्रतिबद्धता गरे ।
कार्यक्रममा सुसेला सङ्गीत समूहका कलाकारहरु अन्जानबाबु, सबिर कार्की र ठाकुर सुवेदीले ढकालरचित गीत ‘छैन विश्वास लागेको’ पनि प्रस्तुत गरेका थिए । कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव विष्णु भण्डारीले सञ्चालन गरेका थिए ।
घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले घनश्याम ढकाल रचनावलीको पहिलो खण्डका रुपमा उनका सौन्दर्यशास्त्रीय रचनाहरुलाई एकाग्र संकलन प्रकाशित गरेको हो । प्रस्तुत संकलनलाई प्रतिष्ठानकै अध्यक्ष समेत रहेका मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं र लेखकरसम्पादक एवम् प्रतिष्ठानका कोषाध्यक्ष वन्दना ढकालले सम्पादन गरेका हुन् ।





