बाजुरामा वर्षासँगै हिमपात



बाजुरा । वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । ६ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् ।

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो ।

बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ ।

बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् ।

चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्