काठमाडौं । मिटरब्याज पीडितहरुको एक समूहले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म पदयात्रा गर्ने भएका छन् । मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाइमा मिटरब्याज पीडितहरुले ६ माघदेखि झापा र कञ्चनपुरबाट काठमाडौंतर्फ पैदलयात्रा सुरु गर्न लागेका हुन् ।
झापा र कञ्चनपुरबाट सुरु हुने पदयात्रा चितवनमा भेट भई त्यहाँबाट काठमाडौंतर्फ पदयात्रा गरिने संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जानकारी दिए । मिटरब्याज पीडितहरुले यसलाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएका छन् ।
गाउँघरमा साहु महाजनबाट ऋण लिएका सर्वसाधारणसँग साहु महाजनले चर्को ब्याज लिने, ऋण लिएको भन्दा बढी रकम लिएको भनेर असुल्ने जस्ता समस्यालाई मिटरब्याज भन्ने गरिएको छ । सरकारले यसलाई अनुचित लेनदेन नामकरण गर्दै यसलाई समाधान गर्न कानुनसमेत बनाएको छ ।