कैलालीमा पाटेबाघ र चितुवा संरक्षणमा चुनौती



घोडाघोडी । गत हप्ता कैलालीको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृतावस्थामा भेटियो । बाघको घाँटीमा फसेको पासो निकाल्नसमेत कठिनाइ भएको थियो । सुर्किने गाँठोले घाँटी कस्सिएर बाघको निस्सासिएर मृत्यु भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।

गत वर्षको असार ५ गते टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो । घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो । एक वर्षको अन्तरालमा कैलालीमा विश्वकै लोपोन्मुख प्रजातिका रुपमा रहेका दुई पाटेबाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ । पाटेबाघ मात्रै होइन यसको बढीको सङ्ख्यामा चितुवा पासोमा परेर मरिरहेका छन् ।

गत पुस ११ गते कैलालीको गोदावरी नगरपालिका–१० स्थित रातोपानी सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवा मर्न पाएन । २०७८ साल चैत १७ गते घोडाघोडी नगरपालिका १० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटेबाघ र चितुवाको मृत्यु सङ्ख्या बढिरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

पछिल्लो ५ वर्षको अवधिमा कैलालीमा दुईवटा पाटेबाघ र चारवटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/०७९ मा दुई चितुवा र एउटा पाटेबाघ तथा चालु अर्थिक वर्षमा एक पाटेबाघको मृत्यु भएको भने एक चितुवाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्