सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एकको मृत्यु, ६ प्रहरीसहित ८ जना घाइते



काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको स्थानीयले बताएका छन् ।

स्थानीयले प्रहरीको गोली लागेर मृत्यु भएको बताए पनि तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए ।

प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको उनले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्