त्रिभुवन विमानस्थलबाट साढे ६ केजी सुन बरामद



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । दुबईबाट अवैध रुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट ६ केजी ५९० ग्राम सुन बरामद गरिएको जानकारी दिए ।

पक्राउ परेका इजिप्टियन नागरिक सेरिफ मोहम्मद ल्यासिन एफ जेट ५७३ फ्लाइ दुबइबाट शनिबार राति ११ बजेर ५१ मिनेटमा अवतरण भएका थिए । उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थाबाट पक्राउ गरेको बुझिएको छ । उनले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको छ ।

बरामद गरिएको सुन पाउडरको रुपमा रहेको छ । सुन धुलो बनाउँदा मेटल डिटेक्टरमा आवाज आउँदैन भनेर निजले धुलो बनाएर ल्याएको हुनसक्ने प्रहरीको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्