जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।

माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ । पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको खतिवडाले बताए । ‘राष्ट्रिय सम्मेलनमा कतिपय विधानको व्यवस्थाबारे पनि छलफल गर्नुपर्ने भएको छ, यसका लागि पनि कार्यदल बनाएका छौं’ उनले भने ।

कार्यदलमा उपाध्यक्ष देवुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला छन् । व्यवस्थापनका लागि अर्को समिति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्