बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी



बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् ।

बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले खेल्ने छन् । चारै खेलाडी गत असोजमा चीनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जित्ने टोलीका सदस्य हुन् ।

अफिसियलमा भगवती अधिकारी छिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अञ्जन धमला, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सा थापालगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । पाँच सदस्यीय टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्