![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2019/11/chiso-320181026060432.jpg?fit=720%2C480&ssl=1)
बाजुरा । आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायका मानिस भेडाच्याङ्ग्रासहित स–परिवार बेँसीतिर झरेका छन् ।
उनीहरू चिसो समयमा जिल्लाको ब्रहमतोला, कुल्देवमाडौँ, बाह्रविस, अछाम, डोटी र सुर्खेतलगायतका जिल्लामा बसाइँ सरेर जाने गरेका छन् । लगातार दुई दिनसम्म घाम नलागेपछि चिसो ह्वात्तै बढेको हो । जल तथा मौसम विज्ञानका अनुसार अझै केही दिन सुदूरपश्चिम प्रदेशलगायतका ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।