
काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी थालेको छ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको हो ।
आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ ।
उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए ।
लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।





