थारु समुदायको मेडरी नाच लोप हुने खतरा



नवलपुर । प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो । 

जिल्लाको मध्यविन्दु–३ लेढाहाका थारु अगुवा होमबहादुर थनेतले सय भाइ कौरव तथा पाँच पाण्डवको जन्मदेखि कुरुक्षेत्रको युद्धसम्मको कथा मेडरी नाचमा प्रस्तुत गरिने बताए । मेडरी नाच्नुअगाडि धाजो (बाँसका दुईवटा लिङ्गो) गाडेर पूजा गरेपछि मात्रै नाच सुरु हुने उनको भनाइ थियो । “धाजो हाल्दा ठूलो र सानो लिङ्गो गाडिन्छ”, उनले भने, “तीमध्ये ठूलो मर्दाना (पुरुष) र सानो जनियानी (महिला)को प्रतीकका रुपमा गाडिएको हुन्छ ।” 

अहिलेका थारू युवाहरुले मेडरी नाच सिक्न र नाच्न नमान्दा प्राचीन संस्कृति नै लोप हुने अवस्थामा पुगेको थनेतले गुनासो गरे । “केटाहरुले डिस्को नाच्न थाले । हामी बूढाहरुले मात्रै मेडरी नाच्नुपर्ने अवस्था आयो,” उनले भने, “यो नाच छोड्नै नमिलेका कारण हामीलाई नाच्न कर लागेको छ । अहिलेका यसवा सिक्न र नाच्न नमान्दा प्राचीन संस्कृति नै हराउने चिन्ता लागेको छ ।” 

मेडरी नाचमा महाभारतको सबै कथा भनेर नाच्ने गरिएको भन्दै ८० वर्षीय थनेतले एकै ठाउँमा सबै गीत गाउन नसकिए पनि खण्डखण्डमा गीत गाउने गरेको बताए । “हामीले भाकल गरेर यो नाच सुरु गर्छौं, नाच्नुभन्दा अगाडि धाजो (खाँबो) गाडेर त्यसको पूजा गरेपछि मात्रै नाच सुरु गरिन्छ”, उनले भने । धाजो नगडी नाच्न सुरु गरे अशुभ हुने उनको भनाइ छ । 

“पहिले गुरौँ (थारु समुदायको पुरोहित)ले पूजा गरेपछि नबोल्ने साना बालबालिकालाई पूजा गर्ने थानमा लगेर मेडरी नाच छोड्न मिल्छ कि नाई भनेर सोध्दा उनीहरुमा देउता प्रवेश भएर यो नाच छोड्न मिल्दैन छोड्यो भने अनिष्ट हुन्छ भनेपछि हामीले नाचलाई निरन्तरता दिँदै आएका छौँ,” थनेतले भने, “हामी बूढाहरुले यहाँसम्म ल्याएको प्राचीन संस्कृति अब हामीपछि अगाडि बढ्दैन कि भन्ने चिन्ता लागेको छ ।” पञ्चायतको पालामा राजा महेन्द्रले यो नाच हेर्ने नवलपुरका थारुहरु पोखरा गएर राजालाई नाच देखाउने गरेको उनले जानकारी दिए ।

“राजा वीरेन्द्रको निमन्त्रणामा हामीले बुटवलमा पुगेर पनि नाच देखाएका छौँ,” थनेतले भने, “अहिलेका धेरै नेताहरुले हाम्रो नाच देखेका छन् तर संरक्षणमा ध्यान दिएका छैनन् ।” अश्विन शुक्ल प्रतिपदादेखि कार्तिक शुक्ल एकादशीसम्म मेडरी नाच्ने गरिएको भन्दै उनले एकादशीको दिन पाण्डवहरुलाई जम्मै कुरा भनेर यस वर्षको नाच समापन गरिने बताए । 

मध्यविन्दु–३ का विकाराम गुरौँले कुनै संस्था वा समुदायले प्राचीन मेडरी नाचका लागि निमन्त्रणा गरेपछि मात्रै नाच्ने गरिएको बताए । “विधि पुर्याएर नाच्नका लागि निकै कठिन छ । त्यसैले पनि युवाहरुले खासै चासो दिएका छैनन्,” उनले भने, “उनीहरु हिन्दी तथा डिस्को नाच्न थालेपछि यो नाच लोप हुँदै गइरहेको छ ।” मेडरी नाचको पूरै कथा समेटिने गरी भिडियो निर्माण गरेर राख्दा पछिल्ला पुस्ता यसप्रति आकर्षित हुनसक्ने उनको भनाइ छ । 

“अहिलेका युवाले महाभारतको अर्थ बुझ्दैनन् । द्वापर युगमा भएको घटनाबारे चासो दिएका छैनन्,” गुरौँले भने, “पाण्डव र कौरवको जन्म, उनीहरुबिच राजकाजका लागि भएको विवाद, लडाइँसहितका सबै घटनाक्रमलाई मेडरी नाचमा प्रस्तुत गरिन्छ ।” नयाँ पुस्तालाई आफ्नो कला र संस्कृतिप्रति चासो दिनुपर्छ, सिक्नुपर्छ भनेर भन्दा पनि उनीहरुले चासो नदिएका उनले गुनासो गरे । 

गाउँभरिका मानिस भेला भएर महाभारतको कथालाई गीतमार्फत गाउँदै धाजोलाई घुमेर मेडरी नाचिने उनको भनाइ छ । 

महाभारत युद्धमा प्रयोग भएका अर्जुनको घोडा, तरवार, भाला, गदालगायतका सामग्रीका रुपमा काठबाट बनेका सामग्री लिएर मेडरी नाच्ने प्रचलन रहेको गुरौँले जानकारी दिए । “यो नाच हामीले कात्तिकको ठूलो एकादशीमा समापन गर्छौँ” उनले भने, “एकादशीमा नाचेपछि हामीले पञ्चपाण्डवलाई तिमीहरुको कथामा आधारित नाटक हामीले गर्यौँ, आजदेखि तिमीहरुलाई हामीले यही थानमा स्थिर राख्छौँ भनेर अर्को वर्षसम्मका लागि जिम्मा लगाएर बस्छौँ ।” 

प्रतिक्रिया दिनुहोस्