मुलुकमा साम्राज्यवादीले सुँढ पसारिरहँदा युवा संघ एक्लै लागिरहेको छ : महेश बस्नेत



काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेतले दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफूहरुको कार्यक्रम असफल भएको भन्ने सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।

युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले साम्राज्यवादीलाई खुशी पार्नका लागि युवा संघ र अनेरास्ववियुलाई कमजोर देखाउन दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफ्नो कार्यक्रम असफल भएको भ्रम फैलाइएको बताए । कार्यक्रममा उनले मुलुकमा साम्राज्यवादी शक्तिहरुले सुँढ पसारिरहँदा उनीहरुविरुद्ध युवा संघ एक्लै लागिरहेको समेत बताए ।

उनले देशको राजनीतिमा साम्राज्यवादीहरुले प्रभाव जमाइरहँदा कांग्रेस, माओवादी, तरुण दल वाईसिएल कहाँ छ ? भनेर प्रश्न समेत गरे ।

‘आज गणतन्त्रमाथि अपराधीहरुले प्रश्न उठाइरहँदा, पुनरुत्थानवादी शक्तिहरु जागिरहँदा, राजतन्त्रका भुतप्रेतहरु यो समाजमा सल्किरहँदा, साम्राज्यवादी शक्तिहरुले यो मुलुकको राजनीतिमा सुँढ पसारिरहँदा तरुण दल कहाँ छ ? कांग्रेस कहाँ छ ? वाईसिएल कहाँ छ ? माओवादी कहाँ छ ?’ उनले प्रश्न गरे, ‘एक्लो जिम्मा हामीले लिएका छैनौँ ?’

प्रतिक्रिया दिनुहोस्