४ महिनामा साढे १२ अर्बको विद्युत् निर्यात



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ ।

विद्युत् निर्यात गत आव २०७९–८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाखले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी रु सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ ।

प्राधिकरणले साउनमा रु दुई अर्ब १४ करोड ७६ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा रु चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा रु दुई अर्ब ६९ करोड ७० लाख बराबरको विद्युत् निर्यात गरेको छ ।

चार महिनाको समग्र औसत विद्युत् बिक्री दरप्रति युनिट रु नौ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट सात ७ रुपैयाँ ७६ पैसा थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताएका छन् ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्