हरिबोधिनी एकादशीमा शङ्खध्वनि प्रतियोगिता हुने



नुवाकोट । नुवाकोटको सामुदायिक रेडियो नुवाकोट एफएमले बुधबार शङ्खध्वनि प्रतियोगिता आयोजना गर्ने भएको छ । हरिबोधिनी एकादशी २०८० का अवसरमा यही मङ्सिर ६ गते विदुर नगरपालिका–५ देवीघाटको चौतारामा आयोजना गर्न लागिएको प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने बताइएको छ । 

नेपाली मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सनातनी हिन्दू धर्मका विभिन्न संस्कारमा नभई नहुने शङ्खको उपयोग, संरक्षण र सम्वद्र्धनार्थ पहिलो पटक बागमती प्रदेशस्तरीय शङ्खध्वनि प्रतियोगिता आयोजना गर्न लागिएको एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिए ।

नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेशलगायतका मुलुकमा शङ्ख प्रयोग गरेको पाइन्छ । विभिन्न संस्कारमा शङ्ख नभई हुँदैन । शङ्ख दिनानुदिन लोप हुँदै गएकाले गर्न युवापुस्ता संरक्षणमा लाग्नुपर्ने संस्थाका अध्यक्ष शिवप्रसाद न्यौपानेले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार तथा  सान्त्वना पाउनेलाई रु तीन हजार तथा सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्ने बताइएको छ । प्रतियोगिताका निर्णायकमा वरुण खतिवडा, मनोज सुवेदी र छेवाङ तेन्जिङ तामाङ रहनेछन् ।

“कार्यक्रमका लागि कार्यक्रममात्र नभएर समाज रूपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम’ भन्ने मूलमन्त्रलाई आत्मसात् गरी संस्थाले यो प्रतियोगिता आयोजना गर्न लागेको हो”, रेडियो पत्रकार अधिकारीले भने । 

प्रतिक्रिया दिनुहोस्