रेशम चौधरीलाई कैद मिनाहाविरुद्ध रिटको पेसी स्थगित



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आजको पेसी स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आजका लागि तोकिएको पेसी स्थगितमा परेको हो ।

टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो ।

कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो ।

सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै कैद मिनाहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्