भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उनले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

मन्त्री बस्नेतले केही राहत सामाग्री र औषधी प्रभावित क्षेत्रमा पुगिसकेको र केही बाटोमा जाँदै गरेकाले ३ दिन भित्र पुग्ने जानकारी दिए ।

मन्त्री बस्नेतले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुनकुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्