भूकम्प प्रभावितका लागि एनआरएनद्वारा १ करोड १० लाखको राहत कोष स्थापना



काठमाडौं । जरकोट केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड १० लाख रुपैंयाँको राहत कोष स्थापना गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पूर्ननिर्माणमा नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै एनआरएनएले संघको तर्फबाट पहिलो चरणमा सहयोगस्वरुप १० लाख उपलब्ध गराउने र बाँकी १ करोड बराबरको राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने निर्णय गरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा राहत समिति गठन गरी पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु.१० हजारका दरले खाद्यान्न र लत्ताकपडा वितरण गरिने जनाएको छ ।

साथै, संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार र राहतका लागि आर्थिक सहयोग संकलन तथा अति आवश्यक कार्यमा यथासक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) द्वारा जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्