नगरकोटमा सडक महोत्सव हुने, एक लाखले अवलोकन गर्ने अपेक्षा



सन्जिब दुलाल, भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको हो । सो महोत्सव कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुन लागेको हो ।

‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

समितिका सचिव प्रदिप अघिकारीले नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए।

उनले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरूप सडक महोत्सवको आयोजना गरिएको जानकारी दिए।

महोत्सवमा स्टल सङ्ख्या २५ रहने छ । नगरकोट प्रहरी चौकी तल मूल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकाली स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए ।

महोत्सवमा प्रत्यक्ष साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताए । उक्त महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको उहाँको भनाइ छ । महोत्सवमा एक लाख हाराहारीले मज्जा लिने अपेक्षा रहेको उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्