हमासद्वारा गाजाका महिलालाई बन्धक बनाएको भिडियो सार्वजनिक



काठमाडौं । हमासले सोमबार एक भिडियो सार्वजनिक गर्दै अक्टोबर ७ मा भएको आक्रमणका क्रममा २३० भन्दा बढी व्यक्तिहरूमध्ये तीन जना महिलालाई लडाकूहरूले अपहरण गरी गाजा लगिएको भनेका बताएको छ ।

प्यालेस्टिनी इस्लामिक समूहले ७६ सेकेन्डको भिडियोमा ती महिलालाई ‘यहुदी बन्दी’ को संज्ञा दिएको छ तर उनीहरूको पहिचान तत्काल पुष्टि गर्न सम्भव छैन । सेतो टाइलको भित्तामा प्लास्टिकको कुर्सीमा बसेकी एक महिलाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सबै बन्दीहरूको रिहाईका लागि कैदी आदानप्रदानमा सहमत हुन आग्रह गरेकी छिन् । 

हिब्रु भाषामा बोल्दा तिनी साह्रै आक्रोशित भएकी देख्न सकिन्छ र अन्तमा उनी रून्छिन् । तर तिनको दुवैतिर बसिरहेका अरू दुई जना चुपचाप बसेका देख्न सकिन्छ । हमासका सयौं बन्दुकधारीले सीमा पार गरी दक्षिणी इजरायलमा प्रवेश गरी किबुट्ज समुदाय, शहर र सैन्य अखडामा आक्रमण गरेपछि बन्धक बनाइएका थिए ।

तिनीहरूको उमेर ८० वषको हाराहारीमा रहेको अनुमान गरिएको छ । हमासले घेराबन्दी गरेको क्षेत्रमा निर्माण गरेको भूमिगत सुरुङको विशाल सञ्जालमा उनीहरूलाई राखिएको अधिकारीहरूले विश्वास गरेका छन् ।

इजरायलले आफ्नो इतिहासकै सबैभन्दा खराब आक्रमणमा एक हजार ४०० जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई तथा स्थल आक्रमणमा परी आठ हजार ३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी महिला तथा बालबालिका रहेको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले अक्टोबर ७ मा गरेको भीषण आक्रमणका तीन जनालाई बन्धक बनाएको भिडियो ‘क्रूर मनोवैज्ञानिक दुष्प्रचार’ भएको बताएका छन् । “यो हमास–आइएसआइएसको क्रूर मनोवैज्ञानिक प्रोपोगान्डा हो,” नेतन्याहूले भिडियो सार्वजनिक भएलगत्तै आफ्नो कार्यालयले जारी गरेको टिप्पणीमा गाजाका लडाकूलाई इस्लामिक स्टेट समूहसँग तुलना गरेका छन् । 

प्रधानमन्त्री नेतन्याहूले भिडियोमार्फत् सार्वजनिक महिलाको नाम येलेना ट्रुपानोब, डेनियल एलोनी र रिमोन किश्र्ट भएको बताउँदै ‘अपहरणमा परेका र हराइरहेका सबैलाई घर फर्काउने’ प्रतिबद्धता जनाएका छन् ।

बन्दीहरूमाथि बढ्दो घरेलु दबाबको सामना गर्दै इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले आइतबार लडाकूहरूले बन्धकहरूको भाग्यमाथि ‘मनोवैज्ञानिक खेल’ खेलेको आरोप लगाएका छन् । अक्टोबर १६ मा हमासले इजरायली–फ्रान्सेली बन्धक मिया शेमको भिडियो सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्