जलवायु परिवर्तन कार्यक्रममा सहभागी हुन मुस्ताङ पुगे प्रधानमन्त्री दाहाल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल मुस्ताङ पुगेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम पुगेका प्रधानमन्त्री दाहालले कोरलानाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमन गरेका छन् । उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।

चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ ।

प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा ९माओवादी केन्द्र० मुस्ताङका इन्चार्ज कपिल लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्