
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्यांकअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ । त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७ दशमलव ८६, तरकारीमा १४ दशमलव ५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३ दशमलव ३८ र दुग्ध पदार्थ तथा अण्डामा १२ दशमलव ६० प्रतिशत मूल्य बढेको छ । यो अवधिमा घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १३ दशमलव ०८ प्रतिशतले घटेको छ ।





