
बेइजिङ । इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् ।
चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन छन् ।
युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रिय रूपमा एक्लिएपछि पुटिन चीन पुगेका हुन् । क्रेमलिनका अनुसार बीआरआई फोरमका क्रममा उनले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलनलाई छायाँमा पारेको छ ।
“वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने छ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । यही अक्टोबर ७ मा इजराइलको इतिहासमै हमासले घातक हमला गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरूले इजरायलको पक्षमा आफ्नो उपस्थिति देखाउँदै आएका छन् ।





