नेपालमा लगानी गर्न कोरियन कम्पनीहरूलाई अर्थमन्त्री महतको आग्रह



मोरक्को । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् ।

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताए ।

‘नेपाल लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी, भारतीय कम्पनी आईटीसी इन्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाईरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने, ‘हामीहरूले चालू आर्थिक वर्षको बजेट मार्फत निजी क्षेत्रको लगानीलाई थप सहजिकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ ।’

नेपाल सरकारले इज अफ डुइङ बिजनेशमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताए । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत उत्पादन, प्रसारण र वितरण लाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’

नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्