
सिन्धुपाल्चोक । जिल्लाको भोटेकोसी गाउँपालिकास्थित झिर्पू माध्यमिक विद्यालयमा अध्ययनरत सम्डुक शेर्पा उच्च शिक्षाका लागि चीन प्रस्थान गरेका छन् ।
विद्यालयले यही शैक्षिकसत्रदेखि जिल्लामा पहिलोपटक चिनियाँभाषा पढाउन सुरु गरेको थियो। भाषा अध्यापन गराउनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाको पहलमा सोवर्स एक्सन हाङकङ र सोवर्स एक्सन नेपालले आर्थिक सहयोग रहेको हो । चिनियाँ भाषाको शिक्षा दिन सुरुगरेसंगै विद्यार्थीहरुमा नयाँ उत्साह थपिएको थियो।
केही महिनाअघि सम्पन्न विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विशिष्ट अतिथिका रुपमा आएका चिनियाँ राजदूतावासका कन्सुलरले झिर्पुमा चिनियाँ भाषा अध्ययन गरेका विद्यार्थीहरुलाई चीनमा उच्च शिक्षा हाँसिल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यसै अनुरुप विद्यालयको पहलमा पहिलो विद्यार्थीको रुपमा शेर्पा चीनको वान्चु विश्वविद्यालयमा गएको विव्यस अध्यक्ष शेर्पाले जानकारी दिए ।
अध्यक्ष शेर्पाले सम्डुकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गर्दै चीनको बसाई र अध्ययन सुखद होस् भन्ने कामना गर्दै झिर्पु मावि र भोटेकोशी क्षेत्रको नाम उच्च राख्न हौसला दिँदैं विदाई गरेका छन् ।
भविष्यमा अन्य विद्यार्थीहरुलाई समेत चीनमा यसरी नै अध्ययन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको विद्यालयले लिएको छ । चीनले सीमा क्षेत्रका बासिन्दाहरुलाई उच्च शिक्षाको लागि विशेष कोटा उपलब्ध गराउनु पर्ने अध्यक्ष शेर्पाको माग छ। झिर्पु मावि देशकै एक नमुना विद्यालयको रुपमा परिचित छ ।





