
काठमाडौँ । सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा युद्धको अवस्था रहेकाले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी गराउँदै उनले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेकाले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।
उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।





