समाजसेवी शेर्पा युवा काेटाबाट वाग्मती प्रदेश कमिटीमा निर्वाचित



सिन्धुपाल्चोक । पूर्वनिर्धारित कार्यक्रमभन्दा बढी समय खर्च गरेर एमाले वाग्मती प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । ८-९ असाेजका लागि ताेकिएकाे अधिवेशन लम्बिएर १२ गते सकिएको हाे । अधिवेशनबाट सिन्धुपाल्चोकका  १४ जना नेता बागमती प्रदेश कमिटीमा निर्वाचित भएका छन् । सबै नेताकाे आफ्नै इतिहास र याेग्यता छ । जसमध्ये भाेटेकाेसी गाउँपालिका वडा नं ४ नारायणथान निवासी ३७ वर्षीय आङछिरी शेर्पा अधिवेशनभर सबैको नजरमा परे ।

शेर्पा पूर्वमाओवादी हुन् । ०७१ मा खाडिचाैरकाे अक्करमा माओवादीकाे जिल्ला अधिवेशन हुँदा उनले लाेकप्रिय मत ल्याएर जिल्ला सदस्य जितेका थिए । उनी माओवादीकाे केन्द्रीय सदस्यसमेत भए । तर, राजनीतिमा उनको संघर्ष र विद्राेह जारी रह्याे । माओवादी नेताहरूकाे तानाशाही प्रवृत्तिले लामाे समय त्यहाँ रहन सकेनन्  । र, नेकपा(एमाले) मा समाहित भए । चीनसँगको सीमानमा पर्ने उनकाे गाउँ  र आसपासमा शेर्पालाई भविष्यकाे उदाउँदो नेताकाे रुपमा लिन्छन्  ।

सिन्धुपाल्चोक एमाले हाँक्ने टिममा शेर्पा निर्विवाद पर्न सफल भए । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रअन्तर्गत उनी युवाबाट सर्वसम्मत निर्वाचित हुन सफल भए । क्षमता, काम गर्ने शैली, नम्र भएर जनतामा जाने र स्पष्ट विचारसहित नेतृत्व लिन खराे उत्रने स्वभाव भएकोले उनी प्रदेश कमिटीमा समेटिन सफल भएका हुन् । कम्युनिस्ट राजनीतिमा दशक समय सक्रिय भएता पनि एमालेमा कम समयमै शेर्पा नेतृत्व लिने ठाउँमा पुगेका छन् । विशाल संगठन रहेकाे एमालेकाे १४ जना सदस्य छानिँदा शेर्पा युवाको प्रतिनिधित्व गरिँदै छानिनु राजनीतिक हिसाबले छलाङ भएको एमालेका नेताकार्यकर्ता बताउँछन् ।

क्षेत्र न. १ बाट सुनकाेसी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, बाह्रबिसे नगरपालिका पूर्वमेयर निम्फुन्जो शेर्पा, लिसंखुपाखर गाउँपालिका पूर्वउपाध्यक्ष हेमगंगा मोक्तान,क्षेत्र न. -२ बाट नेताहरु इन्द्र नेपाल, देविन्द्र बहादुर खत्री पूर्वसभासद डोल्मा तामाङ, सिन्धुपाल्चोक खुलाबाट इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, नेता बालकृष्ण देउजा, पूर्वमाओवादी कमाण्डर विदुर भारती सर्वसम्मत निर्वाचित भएका छन् । दलितबाट रामबहादुर सुनुवार,युवाबाट आङछिरी शेर्पा, महिलाबाट मेलम्ची नगरपालिका उपमेयर उमा प्रधान र पूर्वजिसस उपप्रमुख बालकुमारी सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । युवा संघ नेपालका पूर्वकेन्द्रीय नेता अशाेक चाैँलागाइँ खुला उम्मेदवारी दिएर चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् । यी १४ अनुहारले अब सिन्धुपाल्चोक एमाले हाँक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्