चुक्कुल लगाएर थुनिएका एमाले नेता केशव पाण्डेको वारेस मार्फत बागमती अध्यक्षमा उम्मेद्वारी दर्ता



काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि केही नेताले कार्यालमै बन्धक बनाएको बीचमा वर्तमान अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।

अध्यक्षमा उम्मदेवारी दर्ता गर्ने अन्तिम समयमा पाण्डेको उम्मेदवारी दर्ता भएको हो । एमाले बागमतीका इन्चार्ज गुरू बराल नेताहरू आनन्द पोखरेल, डोरमणि पौडेल, खेम लोहनी लगायतले उम्मेदवारी दर्तामा कार्यकर्तासहित गएका पाण्डेलाई फिर्ता बोलाएर प्रदेश कार्यालयमा अध्यक्षकै कोठामा चुकुल लगाएर बन्धक बनाएका थिए ।

एमाले नुवाकोटका नेताहरूको ठूलो समूहले जवर्जस्ती ढोका खोलेर अध्यक्ष पाण्डेको वारेस लिएर उम्मेदवारी दर्ता गराएका हुन । उनीहरूले ढोकामा धक्का दिएपछि खेम लोहनीले चुकुल खोलेका थिए । त्यसपछि उनले कार्यकर्तालाई दूर्व्यवहार गरेको युवा संघका नेता राजु तिवारीले बताए ।

पाण्डेले वारेश युवा नेता गणेश श्रेष्ठले दिएका थिए । श्रेष्ठले ६ः५० मा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए । कैलाश ढुंगेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै उनीहरूले पाण्डे माथि दूर्व्यवहार गरेका हुन । गुरू बरालले उम्मेदवारी दर्ताको समय गुजार्नका लागि उनकै कार्यकक्षामा बन्धक बनाउने योजना बनाएका थिए । तर कार्यकर्ताको बलियो समर्थन पाएका पाण्डेले अन्तिम समयमा वारेश मार्फत उम्मेदवारी दर्ता गराए ।

नेकपा एमाले नुवाकोट पञ्चकन्या गाउँपालिका कमिटीका अध्यक्ष रामनाथ खनालले पाण्डेलाई बन्धक बनाएको विषयमा सामाजिक सञ्जालमा उल्लेख गर्दै बराल एण्ड पोखरेल समूहलाई धुलो चटाउने चेतावनीसहित गरेको टिप्पणी ।
जुलुशसहित उम्मेदवारी दर्तामा गएका पाण्डेलाई गुरू बरालले नै फोन गरेर उम्मेदवारीस्थलबाट प्रदेश कार्यालय फर्काएर कोठामा थुनेका थिए । बरालको फोन आएपछि उम्मेदवारी दर्ता गरेरमात्र जान कार्यकर्ताले गरेको आग्रह बरालले तत्काल आउन आदेश दिएको भन्दै पाण्डे ७ बजेभित्रमा उम्मेदवारी दर्ता गराउने भन्दै कार्यकक्षतर्फ गएका थिए । त्यसपछि कार्यकक्षमा पुगेका पाण्डेलाई उनीहरूले त्यहीँ ढोका थुनेर बन्धक बनाएका थिए ।

एमाले बागमतीको अध्यक्षमा पाण्डेसँगै अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल, काठमाडौंका सानुकुमार श्रेष्ठ, रामेछापका केशर बुढाथोकी र कैलाश ढुंगेलले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन समितिले जनजातिको क्लस्टर नै कोल्याप्स बनाइदिएका कारण निर्वाचनमा थप विवाद भएर मतदानको काम पर्सीमात्र हुने सम्भावना रहेको छ । उम्मेदवारको प्रारम्भिक सूची समेत अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । उम्मेदवारी फिर्ताको समय दिएर भोलि १ बजेसम्ममा अन्तिम नामावली प्रकाशनको तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

(नेताहरूले बन्धक बनाउनु अघि उम्मेदवारीका लागि तुलसीलाल स्मृति प्रतिष्ठानको हल (जहाँ निर्वाचन अधिकृतको कार्यालय रहेको छ) त्यसतर्फ जाँदै एमाले बागमती प्रदेशका अध्यक्षका उम्मेदवार केशवराज पाण्डे । भिडियो तल हेर्न सक्नुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्