
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गरेका छन् ।
बुधवार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताएका हुन् ।
उनले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्ति अघि बढ्ने प्रतिबद्धता जनाए । उनले कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस भइरहेको बताए ।
उनले निगमद्वारा जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको पनि बताए । उनले धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै जहाज खरिदको विषयमा नकारात्मक ढङ्गले टिप्पणी गर्नेहरू देशभक्त हुन नसक्ने बताए ।
उनले भने ‘हाम्रो देशको आकाशको कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति केही कदमहरू हामीले उठाइसकेका छौँ । हामी छिटै परिणाममा पुग्नेछौँ । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस गरिरहेका छौँ । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौँ । पर्यटनको निम्ति जहाज हो, जुन देश समुन्द्रसँग जोडिएको छैन, त्यो देशको जहाज मेरुदण्ड हो । हामीले ताप्लेजुङमा फलेको किभीलाई हाम्रो जहाजले विराटनगरमा झारेर विराटनगरबाट काठमाडौं ट्रान्जिट गरेर दुबई किन नपठाउने ? हामीले बजारमा व्यापक रूपमा देखिएको विसङ्गतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छाँै । जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढङ्गले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढङ्गले किन्नेछौँ । त्यहाँ कुनै भ्रष्टाचारको जोडिने छैन । देशभक्त हुन के ठिक र के बेठिक हो भन्ने छुटाउनुपर्ने बेला भएको छ । हामीले हाम्रो देशको ऐनलाई सच्याउन आवश्यक छ । यो पनि हाम्रो चुनौती हो । हामीले अहिलेसम्म हाम्रो देशमा संस्कृति ऐन बनाउन सकेका छैनौँ । हामीले ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौँ । पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुन त त्यहाँभित्र खुम्लेकिराहरु छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्ति अघि बढ्नेछौँ ।’
पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको उनले बताए ।





