नेपाली साहित्यको इतिहास लेखन, परम्परा, प्रवृत्ति र आवश्यकताबारे विचार गोष्ठी सम्पन्न



काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, समालोचना र साहित्येतिहास विभागले ‘नेपाली साहित्यको इतिहास लेखन परम्परा, प्रवृत्ति र आवश्यकता’ विषयक विचार गोष्ठीको आयोजना देवकोटा सभाकक्षमा सम्पन्न गरेको छ । यस गोष्ठीको समुद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गरेका छन् ।

गोष्ठीको स्वागत मनतव्यका क्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाली साहित्यको समग्र इतिहास लेखनका बारेमा खोजी र विश्लेषण हुनुपर्ने बताए ।

विचार गोष्ठीको अध्यक्षता नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्येतिहास) विभाग प्रमुख मधुसुदन गिरीले गरेका छन् । गोष्ठीका अवसरमा उनले नेपालको समालोचना लेखन कस्तो अवस्थामा रहेको छ ? आजको विश्वमा समालोचना लेखनको प्रवृत्ति के कस्तो रहेको छ ? नेपाली साहित्यको इतिहास लेखन, परम्परा र प्रवृत्ति के कस्तो छ, के कस्तो आवश्यकता छ ? भन्ने विषयमा दुई महिने विमर्श श्रृङ्खला सुरु गरिएको कुरा उल्लेख गरेका छन् ।

प्रस्तुत विषयमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा समालोचक डा. बालकृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्रमा साहित्येतिहास के हो ?, साहित्येतिहास कस्तो हुन्छ ?, नेपाली साहित्यको इतिहासलेखन परम्परा, इतिहासचेतको प्रारम्भ वा पृष्ठभूमि निर्माण, यसका मूल प्रवृत्तिहरू, साहित्येतिहास लेखन र ग्रन्थ प्रकाशन, साहित्येतिहासको सैद्धान्तिक तथा प्रायोगिक विमर्श र नेपाली साहित्यको इतिहासलेखनका आवश्यकताकाबारे प्रष्ट पारेका छन् ।

कार्यपत्रका टिप्पणीकार प्रा.डा. दयाराम श्रेष्ठले ‘नेपाली साहित्यलेखन कमजोर छैन । अहिले नेपाली भाषा संसारका कुनाकुनासम्म छरिएको छ । तिनको पनि इतिहास लेखिनुपर्छ । यसका लागि तथ्यपूर्ण सामग्रीको सङ्कलन हुनुपर्छ’ भने ।

यसैगरी कार्यपत्रका अर्का टिप्पणीकार डा. विन्दु शर्माले वर्णनात्मक ढाँचामा लेखिएको कार्यपत्रका सीमाहरू प्रष्ट खुल्याइए पनि साहित्य इतिहास लेखनमा शैली विज्ञानका बारेमा थप व्याख्या हुनुपर्ने बताए ।

प्रस्तुत कार्यपत्रमाथि सहभागीका तर्फबाट प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. हरिप्रसाद सिलवाल, डा. सोम धिताल, घनेन्द्र ओझा, ज्ञानु अधिकारी, सरोज दिलु विश्वकर्मा, प्रमोद प्रधान र विक्रम त्रिपाठीले आ–आफ्नो धारणा राखे ।

कार्यक्रमको सहजीकरण तथा उद्घोषण प्रज्ञा–प्रतिष्ठान ‘समालोचना तथा साहित्येतिहास’ विभागका सदस्य तेजविलास अधिकारीले गरे ।

प्रतिक्रिया दिनुहोस्