
काठमाडौँ । काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ गरिएको छ ।
संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका हुन् । १३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ ।
द्रुत बस सेवा सञ्चालन शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पहिलो चरणमा सुरु गरिएको द्रुत बस सेवालाई उपत्यकाका अन्य स्थानमा पनि विस्तार गरिने बताएका छन् ।
उनले द्रुत बस सेवालाई अवरोध नपुग्ने गरि निरन्तरता दिनका लागि निरन्तर अनुगमन र सरोकारवालासंग छलफल गर्ने जानकारी दिए । त्यस्तै मन्त्री ज्वालाले दशै तिहार जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यातायातलाई सुव्यवस्थीत गर्नका लागि योजनाबद्ध रुपमा अघि बढ्ने धारणा राखे । उनले यातायात कार्यालयमा अनलाईन सेवालाई देशव्यापी बनाउदै सहज रुपमा सेवा प्रदान गर्ने गरि काम अघि बढेको जानकारी दिए ।





