त्रिपन्नौँ संस्कृत दिवस सम्पन्न



काठमाडौँ । संस्कृत–भाषाको संरक्षण ,सम्वर्द्वन गर्दै वक्ता र प्रयोक्ताको ध्यानाकर्षण गर्ने उद्वेश्यले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठअनुसन्धान व्यवस्थापन केन्द्र र भारतीय राजदूतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको सहकार्यमा त्रिपन्नौँ संस्कृत दिवसको आयोजना भयो । यसका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर समारोहको उद्घाटन गरे ।

यसअवसरमा प्रमुख अतिथि राईले संस्कृतभाषा पूर्वीय वाङ्मयको अथाह स्रोत र विभिन्न मातृभाषाको जननी हो । यसको पुष्टि समारोहमा प्रस्तुत गरिएका कार्यपत्रले गरेको छ। ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठानुभन्ने नारासहित १३० भन्दा बढी मातृभाषा र साहित्यमा नेपाल प्रज्ञा-प्रतिष्ठानले काम गर्न थालिसकेको छ । यसलाई आत्मसात् गर्न नसक्नेहरूले नेपाली भाषाप्रति पूर्वाग्रह राखेको आरोप लगाउनु पूर्वाग्रहबाहेक केही होइन । मैले संस्कृतलगायत प्रत्येक मातृभाषालाई उच्चसम्मानका साथ हेरेको छु भने ।

यसै सन्दर्भका तीनवटा कार्यपत्रमा प्रा.डा.जीवन अधिकारीले ‘आदर्शप्रयोगस्य दृष्टान्तो महाकविः कालिदासःडा.प्रियंवदाम्बा काफ्लेले ‘संस्कृतसाहित्ये महिलानां वैदुष्यप्रतिपादनम् र डा.प्रमोदवर्धनस्कौण्डिन्न्यायनःले ‘नैपालकसंस्कृतविदुषां विगतपञ्चाशद्वर्षेष’ प्रकाशितानां ग्रन्थानां संक्षिप्तं पर्यालोचनम्’ प्रस्तुत गरे ।

यस समारोहका विशिष्ट अतिथि चिन्मय विश्वविद्यालयका पूर्वकुलपति तथा चिन्मय इन्टर्नेसनल संस्थाकी निर्देशक प्राध्यापक माहुलीकरले संस्कृतभाषाका महाकवि कालिदासले नेपालको गौरवमय हिमाली सभ्यता र दर्शनमाथि प्रकाश पार्दै संस्कृत दिवसको महत्वबारे जोड दिए। विशिष्टअतिथि वाल्मीकि विद्यापीठका पूर्व प्राचार्य डा.गणेशप्रसाद घिमिरे,वाल्मीकि विद्यापीठका प्राचार्य डा.भागवत ढकाल, नेसंवि अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्रा.डा.काशीनाथ न्यौपाने र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावरी वापटले मनतव्य व्यक्त गरे।

यस समारोहका विशेष अतिथि वाल्मीकि विद्यापीठकी सहायकप्राचार्य डा.रमा भट्टराई, प्रा.डा.देवमणि भट्टराई, प्रा.डा. माधवप्रसाद पाण्डेय, डा.माधव लामिछाने, डा.रामप्रसाद पौडेल र उपप्राध्यापक हिमालय भट्टराई लगायतले कार्यपत्रमाथि टिप्पणीसहित सुझाव दिए।

यसै समारोहमा भारतबाट नेपाल आउनुभएकी विशिष्ट विदुषी गौरी माहुलीकर विशेष उपहारद्वारा सम्मानित भए । साथै प्रा.डा.जीवन अधिकारी र डा.प्रियंवदाम्बा काफ्ले र डा.प्रमोदवर्धन : कौण्डिन्न्यायनले प्रमाणपत्र प्राप्त गरे।

यस समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावासका निर्देशक बापटले स्वागत तथा धन्यवाद मन्तव्य राखे ।

यसैगरी तीन सत्रमा सम्पन्न भएको संस्कृत दिवस समारोहको पहिलो सत्रको अध्यक्षता वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइका संयोजक शान्तिकृष्ण अधिकारी ,दोस्रो सत्रको अध्यक्षता वाल्मीकि विद्यापीठका प्राचार्य डा.भागवत ढकाल र तेस्रो अर्थात् समापन सत्रको अध्यक्षता प्रा.डा.काशीनाथ न्यौपानेले गरे । कार्यक्रमको सञ्चालन वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव डा.प्रेमराज न्यौपानेले गरे ।

प्रतिक्रिया दिनुहोस्