लगानी बोर्ड बैठकद्वारा चारवटा जलविद्युत परियोजना स्वीकृत



काठमाडौँ । लगानी बोर्ड बैठकले चारवटा जलविद्युत् परियोजनाहरू स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बोर्डको ५५औं बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि ‘डोल्मा हिमालयन इनर्जी’लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।

साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता ‘राईजेन इनर्जी कम्पनी’बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्