
काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।
पक्राउ पर्नेमा सुनका आयातकर्ता रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, रामकुमार भुजेल, हर्के राई र भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सीका चालक तथा एकजना भारतीय नागरिक रहेका राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले बताए।
उनका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी जारी छ । सुनको यकिन परिणाम थाहा भइसकेको छैन।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जनालाई पक्राउ गरिएको ढुङ्गानाले जानकारी दिए ।
हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको अबैध सुन बुधबार बरामद भएको थियो।





