नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने



काठमाडौं । सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ । नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा आयोजित कन्क्लेभमा सदस्य सचिव टंकलाल घिसिङले माउन्टेन स्पोर्ट्स गेम्स आयोजनामा नेपालको अवधारणा प्रस्तुत गरेका थिए ।

कन्क्लेभमा खेल प्रबद्र्धनमा विदेशी नियोग र दुतावास, माउन्टेन स्पोर्ट्स गेम्समा अन्तर सरकारी समन्वय, खेल इभेन्टबाट देशको ब्राण्डिङ र प्रदेशमा साहसीक र पर्यटकीय खेलकुद शीर्षकमा सरोकारवाला निकायबीच छलफल भएको थियो भने सदस्य सचिव घिसिङले प्रस्तुत गरेको अवधारणामाथि सहभागीले धारणा राखेका थिए ।

कार्यक्रममा विदेशी नियोग तथा दुतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवहरु, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलकुद संघका पदाधिकारी, युनेस्को, सञ्चारकर्मी, पर्यटन तथा उद्यमी संघका प्रतिनिधि सहित विभिन्न सरोकारवाला निकाय सहभागी थिए ।

कन्क्लेभ देहाय बमोजिमको घोषणा गर्दै समापन भएको हो ।साहसीक खेलको इभेन्टलाई प्राथमिकता दिने । नेचर, एडभेन्चर, कल्चरसँग सम्बन्धित खेल आयोजना गर्ने । तीन हजार मिटर आसपासको भेन्युमा प्रतियोगिता गर्ने । अन्तराष्ट्रिय महासंघको संलग्नता अनिवार्य गराउने । नीतिगत र ब्यवस्थापकिय गरि दुई समिति परिचालन गर्ने । राखेप, एनओसी, खेलकुद मन्त्रालय र महासंघ मध्य एकले आयोजनाको नेतृत्व गर्ने । नेपाल पर्यटन बोर्डलाई सह–आयोजकको प्रस्ताव गर्ने । नीजि क्षेत्रलाई प्रवेश गराउने ।

प्रदेश/पालिकालाई समेत आयोजनाको जिम्मेवारी दिन सकिने । हाललाई ४ देखि ६ खेल समावेश गर्ने । नेपालका विभिन्न स्थानमा छुट्टा छुट्टै स्थानमा कार्यक्रम सञ्चालन गर्ने । युनेस्को, कन्सुलर अफिस तथा विदेशी नियोगलाई सहयोगका लागि अपिल गर्ने ।

राष्ट्रिय योजना आयोगसँग नीतिगत समन्वयका लागि पहल गर्ने । राखेपको खेलकुद विकास विभाग, श्रद्धा श्रेष्ठ र गोबिन्द भट्टराई सम्मिलित टिमले सचिवालयको कार्य गर्ने ।

वेव साईट तयार गर्ने र इभेन्टको ब्राण्डिङमा जोड गर्ने । दक्षिण एसियाली ओलम्पिक काउन्सिलसँग सहकार्य गर्दै प्रतियोगिता आयोजनामा जोड गर्ने ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा सो कन्क्लेभ आयोजना गरिएको हो । राखेपले अर्को वर्ष मार्चमा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनाको प्रस्ताव अघि सारेर आयोजनाको तयारीलाई अघि बढाएको छ ।

फेडेरेसनका अध्यक्ष गोबिन्द भट्टराईले कन्क्लेभ अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रस्थान बिन्दु रहेको बताए । अध्यक्ष भट्टराईले सम्बन्धित राष्ट्रिय संघलाई ब्यवस्थित भएर प्रतियोगिताको तयारीमा अघि बढ्न सुझाव दिए थिए ।

प्रतिक्रिया दिनुहोस्