
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।
शुक्रबार कीर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाँड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन् ।
ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गरे ।
भारतले नेपालमा सरकार बनाउँछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरीत राखेको अभिव्यक्ति साधारण विषय नभएको उनको भनाइ छ ।
त्यस्तै, उनले यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर राष्ट्रपतिले प्रमाणीकरण गरेको आरोप लगाए । गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको उनले बताए ।





