अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : अर्थमन्त्री महत



विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् ।

आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताएका हुन् ।

उनले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताए । सरकारले आगामी आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा कुल बजेटको १७ दशमलव २५ प्रतिशत बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा.महतले मौद्रिक नीति र अर्थ नीतिमा सरकारले सुधार गर्दै जाने बताएका छन् । उनले आगामी आवको बजेट कसैको दबाब र प्रभावमा नपरी बनाएकाले जनतामुखी भएको समेत दाबी गरे । उनले विराटनगरको चक्रपथ निर्माणमा सरकारले ध्यान दिने भन्दै उद्योग, व्यापार एवं व्यवसाय प्रवर्द्धनमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्