सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कका नाममा फुटाउने काम नहुने बताएका छन् ।

नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।”

उनले मगरलगायत अरु आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने बताए ।

“जनगणना सार्वजनिक गर्ने क्रममा मगर जातिलाई फुटाइएको भन्ने गुनासो आदिवासी जनजाति महासङ्घका तर्फबाट पनि आएको छ, पुनमगर मगर होइनन् भन्ने किसिमबाट जनगणनाको तथ्याङ्क सार्वजनिक भयो भन्ने मलाई थाहा थिएन”, उनले भने, “महासङ्घले मलाई जानकारी दिएपछि मैले भनिसकेको छु । केन्द्रीय तथ्याङ्क कार्यालयका प्रमुख विदेश भ्रमणमा भएकाले उहाँ स्वदेश फर्किएपछि त्यसलाई स्पष्ट गर्ने र सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सबै जातजातिमध्ये मगर समुदायमा विचार, नेतृत्व र नेताको रक्षामा प्रतिबद्ध पाइएको भन्दै प्रधानमन्त्री दाहालले मगर समुदायको व्यक्तिलाई राष्ट्रकै सम्मानित पद उपराष्ट्रपति र सभामुख बनाइएको बताए । नेपाल बहुजातीय, बहुभाषिक, विभिन्न सांस्कृतिक विविधता भएको उल्लेख गर्दै उनले यो ऐतिहासिक विरासत नेपालको विशिष्ट पहिचानका रूपमा रहेको बताए ।

आदिवासी सबै प्रकृतिको पूजा गर्ने संस्कृतिबाट विकास हुँदै आएको इतिहास रहेको जनाउँदै उनले प्रकृतिको संरक्षण गर्ने कुरा सम्पूर्ण मानव जातिको संरक्षण गर्नेमा निहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्