सभामुख घिमिरे र ट्युनिसियाकी राजदूतबीच भेटवार्ता



काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि ट्युनिसियाकी गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेटघाट गरेकी छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

भेटमा सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कुटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने बताएका छन् ।

‘नेपाल र ट्युनिसिया दुवै संयुक्त राष्ट्र संघ, असंलग्न राष्ट्र तथा जी– ७७ का सदस्य छौं,’ सभामुख घिमिरेले भने, ‘विद्यमान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न तहमा भ्रमणको आदान प्रदान आवश्यक छ ।’ उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरुमा सहकार्य गर्दै आइरहेको बताए । सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा बृहत्तर सहकार्य गर्न सकिने बताए ।

नेपालमा गएको वर्ष भएको तीनवटै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएको स्मरण गर्दै सभामुख घिमिरेले नेपालको संसद्ले ट्युनिसियालाई हेर्ने गरी संसदीय मैत्री समूह गठनको तयारी गरेको जानकारी दिए । ट्युनिसियाका गैरआवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गिरन्।

प्रतिक्रिया दिनुहोस्