भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढिरहेको बताए ।

उनले भने, ‘कतिपयले आशंका गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो ।’ भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाउँदै उनले कहीँ सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन आफूहरू क्रियाशील रहेको जनाउँदै अध्यक्ष दाहालले समाजवादी क्रान्ति सम्पन्न गर्न आफूहरू समाजवादी मोर्चा बनाउने प्रक्रियामा केन्द्रित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्