गर्मी बढेसँगै बागमतीमा दुर्गन्ध बढ्यो



ललितपुर । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने बागमती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको बागमती नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन् बढाएको छ ।

गर्मी सुरुभएसँगै बागमतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण बागमती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र बागमती नदीको दोभान छ । दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन् ।

बागमती नदीअन्तर्गतका अन्य पुल तथा बागमती करिडोरमा पैदलयात्रा गर्ने नाकमुख थुनेर हिँड्छन् । कुलेश्वरमा रहेको फलफूल बजार र बल्खु पुलको छेउमा रहेको तरकारी बजारमा दुर्गन्ध अत्यधिक बढेको यहाँका स्थानीय बताउँछन् । थापाथली र कुलेश्वरको सुकुम्वासी बस्तीमा वर्षातको समयमा बागमती नदी बस्ती भित्रै पस्ने उनीहरुको भनाइ छ ।

ललितपुर महानगरपालिका–२ सानेपामा बस्ने सानेपा स्वास्थ्य संस्थाका सचिव सजीव केसीले भने, “हावा चल्यो भने बागमती नदीको गन्ध करिब एक किलोमिटर परसम्मको बस्तीमा पुग्छ । नदीबाट आएको गन्धका कारण राति निन्द्रा पर्दैन, खाना मन लाग्दैन ।”

स्वास्थ्य शिविरको कामका लागि जाँदा बागमती गाउँपालिकाको प्यूटारसम्म दुर्गन्ध पुग्ने उनले अनुभव सुनाए । उनले भने, “सानेपामा बागमती नदीको छेउमै छ नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय छ । यहाँ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आउनुहुन्छ तर उहाँहरुलाई बागमती नदीको गन्ध कसरी कम गर्न सकिन्छ भन्नेतर्फ चिन्ता नै छैन ।”

ललितपुर महानगरपालिका–२ सानेपाका ४५ वर्षीय विशाल शाहीले बागमती करिडोर छेउमा पसल व्यवसाय गर्न लागेको वर्षौँ बितेको भन्दै नदीको दुर्गन्ध पनि वर्षौँदेखि उस्तै रहेको बताए । उनले भने, “गत वर्ष डेङ्गु बढेका बेलामा हाम्रो पूरै परिवार डेङ्गु सङ्क्रमित भयो । अहिले पनि बेलाबेलामा हैजालगायत सङ्क्रमित रोग देखा पर्छन् । नदीको दुर्गन्धसँग जोडिएको वर्षौँ बितेकाले बानी परिसकेको छ ।”

“बागमती नदी किनारमा धेरै पार्क छन् । पार्कभित्र मानिस पस्छन् तर दुर्गन्धका कारण धेरै समय टिक्न सक्दैनन् । ललितपुरमा बिपी पार्क, मनमहोन पार्क र शहीद पार्क वाग्मती किनारमा छन्”, बिपी पार्कका इन्चार्ज सञ्जु श्रेष्ठले भनिन्, “धेरै लगानी गरेर पार्क स्थापना गरेका छौँ । पार्कमा मानिस आउँछन् तर दुर्गन्धका कारणले धेरै समय बस्न सक्दैनन् ।” उनले बागमती नदीको दुर्गन्धका कारण पार्कमा चहलपहल घटेको बताइन् ।

बागमती नदीको किनारमा बस्ने सुनकुमारी गुरुङले फागुन सुरु हुने बित्तिकै बागमतीको दुर्गन्ध सुरु हुने बताइन् । “फागुन लागेपछि हावा चल्न थाल्छ । हावा चल्यो भने दुर्गन्ध फैलिन्छ र बस्नै गाह्रो हुन्छ । राति निन्द्रा पर्दैन । यहाँ बसेको वर्षौँ भयो तर समस्या सधैँ उस्तै छ”, उनले भनिन् ।

नदीबाट निस्कने दुर्गन्धका कारण नदी आसपासका बासिन्दालाई सास्ती भइरहेको छ । “बागमतीबाट निस्कने दुर्गन्धको असर कति छ भन्ने कुरा त हामीलाई थाह छ । बागमतीमा ढल मिसाउनेलाई थाह छैन”, स्थानीयले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्