लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व : अर्थमन्त्री महत



काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा.महतले भने, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ। त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ।”

उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्नेछ र यसलाई अझ उचाइमा पुर्‍याउनेमा उनले विश्वास व्यक्त गरे।

धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरुपमा गर्नुपर्ने भन्दै उनले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताए।

“आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा शेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउने होइन, यस विषयमा जुन हल्ला चल्यो त्यो गलत हो”, उनले भने।

शेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै उनले पुँजीबजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरुको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी भएको बताए।

प्रतिक्रिया दिनुहोस्