चौध दिन पछि खुल्यो कर्णाली कोरिडोर



मान्म । कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो ।

पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड पूर्ण रुपमा सञ्चालन गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । उनका अनुसार पुलको दक्षिणतर्फको दुई वटा खाल्डा तथा सडक ‘पीसीसी’ प्रविधिबाट मर्मत गरिएको छ ।

‘ठूला मालबाहक सवारीसाधन पीसीसी सडकबाटै आउजाउ गर्न थालेका छन्’, प्रजिअ माझीले भने , ‘जोखिम ठाउँमा गरिएको पीसीसी प्रविधिबाट मर्मत गरिएकाले छोटो समयमा नै गाडी चलाउन मिलेको हो ।’ पुलको आसपासको सडक निकै जोखिम रहेकाले सोलिङ (नयाँ तह लगाएर) र पीसीसी गरिएको उनको भनाइ थियो । पुलको छेउमा रहेका ढुंगाका कारण सवारीसाधन दुर्घटनाको जोखिम थियो । प्रजिअ माझीले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक मर्मत गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्