एसियाली खेलकुदको तयारी बारे छलफल



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसंग शनिबार छलफल गरेका छन् ।

चीनको होङझावमा हुने असोज ६ गतेदेखि सुरु हुने १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलका मुख्य प्रशिक्षकहरुसंग छलफल गर्नु भएको हो । सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा खेलाडीको छनोट र तालिम, खेलाडीको स्तरीय प्रशिक्षणका लागि आगामी योजना, खेलाडीले तालिम गर्ने स्थलको अवस्था, खेल सामाग्रीलगायतका विषयमा छलफल भएको थियो ।

सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षणमा विशेष ध्यान दिएर नेपालको सहभागीलाई उपलब्धीमुलक बनाउन प्रतिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्