
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध लगातार मुद्दा चलाइएको भन्दै आक्रोश पोखेका छन् ।
सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै युवराज पौडेलले दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको भोलिपल्ट उनले इरिटेट गर्ने पनि सीमा हुने प्रतिक्रिया दिएका हुन् ।
आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको र अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको उल्लेख गर्दै उनले फेरि प्रश्न उठाउनुपर्ने कारण नभएको जिकिर गरेका छन् । ‘अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्।’सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन् ।





