नीति तथा कार्यक्रम रेस्लिङ जस्तो नबनाउ : ज्ञानबहादुर शाही



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरूलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारी र अपराधीहरूलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताए ।

प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताए । उनले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गरे ।

ट्रेड युनियनहरूकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो । उनले मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको विक्री वितरण र बाहिरबाट मदिरा ल्याउने काममा प्रतिबन्ध लगाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद शाहीले भने, ‘प्रधानमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु । यो ट्रेड युनियन भन्ने छ नि । यसलाई खारेज गरिदिनुस् । यसले कलकारखाना बन्द मात्रै गरिराखेको छ । लगानीकर्ताको लगानी सुरक्षित गर्ने ग्यारेन्टी गरिदिनुस् । प्राकृतिक स्रोतको प्रयोग गर्नुस् । जस्तो रुख एउटा काट्यो भने दुईटा लगाउने व्यवस्था गर्नुस् । जडीबुटीहरू किसानलाई उत्पादन गर्न दिनुस् । अनि, विदेशी मदिरालाई चट्ट परेर खाने, अनि लोकल मदिरालाई चाहिँ घरघरमा पुलिस गएर तोडफोड गर्ने होइन । लोकल मदिरालाई पनि गुणस्तर मापदण्ड चेकगरी खुलमखुला बेच्ने, विदेशी मदिरा रोक्ने कानुन बनाउनुस् । तवमात्र देशको अर्थ व्यवस्था बलियो बन्छ । यो नीति तथा कार्यक्रम रेस्लिङ खेल्ने गेमजस्तो नबनाऊ । र, भ्रष्टाचारी, अपराधीहरूलाई कानुनी कारबाही गरौँ । यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौँ । यदि यो रोकियो भने राप्रपाले रचनात्मक सहयोग गर्छ । सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रमुख सचेतक शाहीले प्राकृतिक स्रोतको सदुपयोग गर्ने, जुडिबुटीको उत्पादन तथा विक्रीवितरणको काम किसानलाई गर्न दिने नीति ल्याउन पनि सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्