पन्ध्र सय मिटरमा अस्मितालाई स्वर्ण



काठमाडौं । सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सतर्फ १५०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फ स्वर्ण विजेता हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते । महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन् । रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते । हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् ।उनी १.३१ मिटर उचाई माथि उफ्रिन् ।

चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । यसै विधामा पुरुषतर्पm चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनी १.६९ मिटर उचाई उफ्रिए । सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए । डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१.९८ मिटर पर फ्याक्दै स्वर्ण जिते । दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए ।

पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७.७० मिटर पर फ्याके । चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।

तेक्वान्दो :
दोस्रो बाग्मती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौंका राम गोलले स्वर्ण जिते । उनले ६.६३३ अंक जोडे । नुवाकोटका सुजन तामाङ दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा रामेछापकी सन्ध्या लामा ७.६६ अंकसाथ शीर्ष स्थानमा रहिन्। दोलखाकी हिमाला अधिकारी दोश्रो तथा सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राई तेश्रो बने ।

हुप्राचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य हात पारे । पुरुषको समूहगत पुम्सेमा काठमाडौं पहिलो, ललितपुर दोश्रो तथा नुवाकोट र रामेछाप तेश्रो स्थानमा रहे । महिला समूहगत पुम्से ललितपुरले स्वर्ण जित्यो । काठमाडौंले रजत तथा सिन्धुपाल्चोक र चितवनले कांस्य जिते ।

प्रतिक्रिया दिनुहोस्