२७औँ पटक सर्वोच्च शिखरमा चढेर कामीरिताले राखे नयाँ कीर्तिमान



काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोडेका हुन् ।

सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा गएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिएका छन् । सगरमाथाको आधार शिविरमा रहेका इमाजिन नेपाल ट्रेक्स एण्ड एक्सिपीडिसन कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाका अनुसार कामीरिताको विश्वकीर्तिमान कायमसँगै यो याममा हालसम्म एक सयभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । झण्डै एक सय आरोही यतिखेर सगरमाथाको हिलारी स्टेपभन्दा माथितिर लामबद्ध छन् । उनीहरु आज साँझसम्म चुचुरोमा पुग्ने जनाइएको छ ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कामीरिता शेर्पाले सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाएको बताए । उनका अनुसार करिब एक सय आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् भने आज थप एक सय आरोही चुचुरोमा पुग्ने अनुमान छ । “कामीरिताले विश्वकीर्तिमान बनाउनुभएको छ, आरोहण धमाधम भइरहेको छ, सञ्चार सम्पर्क राम्ररी नभएका कारणले सबै आरोही समूहको एकिन जानकारी आइसकेको छैन, आज बेलुकासम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्छन् भन्ने छ, साँझसम्म ‘गुड न्यूज’ आउला”, निर्देशक खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्